Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

५०० वर्षपछि रहस्य खुल्यो, मोनालिसा कहाँ बनाइएको थियो ?


५०० वर्षपछि रहस्य खुल्यो, मोनालिसा कहाँ बनाइएको थियो ?

एजेन्सी । लिओनार्दो दा भिन्चीको मोनालिसा चित्रकलामा देखाइएकी मोनालिसाको रहस्यमय मुस्कानको लागि परिचित छ। उक्त चित्रकला बनेको ५०० वर्षभन्दा बढी भइसक्दा पनि त्यससँग सम्बन्धित धेरै पक्षबारे स्पष्ट उत्तर छैन।एक भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले उक्त चित्रकला कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी छन्। उक्त चित्रमा चौधौँ शताब्दीको पुल देखिन्छ। त्यसले उक्त चित्र लम्बार्डी क्षेत्रको कमो तालको किनारामा अवस्थित इटालेली सहर लेक्कोको पृष्ठभूमिमा बनाइएको सङ्केत गर्छ ।

लियोनार्दो दा भिन्चीको पाइला पछ्याउँदै
बीबीसीको ग्लोबल न्यूज पड्कास्टसँग कुरा गर्दै पिज्जोरुस्सोले लियोनार्दोका पाइला पछ्याउँदै उनी ५०० वर्षअघि गएका स्थानहरूमा पत्ता लगाइएको बताइन्। म उनका चित्र र रेखाचित्रमा यति धेरै वर्षपछि पनि भूदृश्य देख्न सक्छु,ू उनले भनिन्। वर्षौँदेखि कलासम्बन्धी इतिहासकारहरूले मोनालिसाको चित्रकलामा रहेको पुलको पहिचान गर्ने प्रयास गरिरहेका छन्।

पिज्जोरुस्सोले मोनालिसाको भौगोलिक विशेषतालाई उत्तरी इटलीको कमो तालको किनारमा रहेको सहर लेक्कोसँग दाँजेर उक्त विश्वप्रसिद्ध चित्रकला त्यहाँ बनाइएको विश्वास गरेकी छन्। कमो तालमा लियोनार्दोले धेरै समय बिताएका थिए किनभने उनले मिलानदेखि कमोसम्म एउटा नहर बनाउन कोसिस गरेका थिए। उनले त्यस्तो गर्न सकेनन् किनकि त्यो मार्गमा धेरै चट्टानहरू भएको जमिन थियो, उनले भनिन्।


सन् २०११ मा मोनालिसाको चित्रकलामा देखिने पुल र सडक उत्तरी इटलीको एउटा सानो सहर बब्बिओको हुन सक्ने अनुमान गरिएको थियो। सन् २०२३ मा गरिएको एउटा दाबीमा लियोनार्दो दा भिन्चीले अरेत्सो प्रान्तको एउटा पुल उक्त चित्रमा देखाएका थिए भनिएको थियो। विगतमा ल्याटेरिनाको पोन्ते रोमितो पुल पनि मोनालिसा चित्रकलासँग जोडिएको थियो।

प्यारिसको लूभ्रमा राखिएको सोह्रौँ शताब्दीको चित्रकला मोनालिसा विश्वको सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एक हो। उक्त चित्रकला बनाउने लिओनार्दो दा भिन्ची कलाकार मात्र नभई मूर्तिकार, इन्जिनियर, वैज्ञानिक, गणितज्ञ र आविष्कारक पनि थिए। पाँच सय वर्षअघि उनले गरेको खोजीले आज पनि हाम्रो दैनिक जीवनलाई सहज बनाएको छ। बीबीसी नेपाली सेवा अनलाइनमा प्रकाशित छ ।