Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आज ‘भ्यालेन्टाइन डे’, यस वर्ष तीन लाख ५० हजार स्टिक गुलाफको माग


आज ‘भ्यालेन्टाइन डे’, यस वर्ष तीन लाख ५० हजार स्टिक गुलाफको माग

काठमाडौं । आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’। विश्वभर विषेश रुपमा मनाइँदैछ। आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ। यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो।

प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।


यसैबीच, फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ ।

यस वर्ष रातो गुलाफ प्रतिस्टिक ८० रुपैयाँदेखि एक सयसम्म पर्ने उनले बताए । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताउनुहुन्छ । प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार रु तीन करोड ५० लाखको हुने उनको भनाइ छ । उनले वार्षिक ३ अर्ब ७ करोड रुपैयाँको फूलको कारोबार हुने गरेका बताए । रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरुपमा लगाउने गरिएको छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । व्यावसायिकरूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।