काठमाडौं, २ साउन । लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय सहरहरूमा सिधा हवाइ उडान सञ्चालन गर्न सिमावर्ती क्षेत्रका स्थानीय पर्यटन व्यवसायीले माग गरेका छन् । आवश्यक पूर्वाधार र संरचना तयार भए पनि त्यसको सदुपयोग हुन नसकेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागी पर्यटन व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालनमा ल्याउन जोड दिएका हुन् ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले राज्यका विभिन्न तह र तप्कामा अनुरोध गरे पनि यस विमानस्थल सञ्चालनका लागि नियामक निकाय सकारात्मक नबनेको गुनासो गरे ।
सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो), लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीभगवान प्रसाद गुप्ता (श्रीचन) चयन भएका छन् । भैरहवामा सम्पन्न संस्थाको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गुप्ताको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।