Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२४ दिनमा सरकारी ढुकुटीबाट १ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ सकियो


२४ दिनमा सरकारी ढुकुटीबाट १ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ सकियो

काठमाडौं,२६ असार । असार १ देखि गत आइतबार (असार २४) सम्म सरकारले १ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यो बजेट वर्षभरि खर्च भएको रकमको करिब १५ प्रतिशत हो । असारको पनि पछिल्ला डेढ साता धेरै बजेट खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार गत जेठ ३२ सम्म सरकारको कुल खर्च ११ खर्ब ७६ अर्ब ६ करोड थियो तर असार २४ सम्म कुल खर्च बढेर १३ खर्ब ७४ अर्ब ७५ करोड पुगेको छ ।

उक्त अवधिमा भएको कुल खर्चमध्ये पुँजीगतभन्दा चालु खर्च धेरै छ । यस्तै, गत जेठ मसान्तसम्म ८ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ कुल चालु खर्च भएकामा असार २४ सम्ममा यो बढेर १० खर्ब १ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसले असारमा मात्र थप १ खर्ब २४ अर्ब ४३ करोड रुपैयाँ चालु खर्च भएको पुष्टि हुन्छ । असारमा पुँजीगत खर्च पनि ह्वात्तै बढेको देखिन्छ । जसअनुसार गत जेठ मसान्तसम्म १ खर्ब ५३ अर्ब ३० करोड पुँजीगत खर्च भएकामा यही असार २४ सम्म पुग्दा बढेर २ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यसले असारमा मात्र थप ५७ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको देखाउँछ ।

यस्तै, महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ मसान्तसम्म वित्त व्यवस्थापनतर्फ १ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको थियो भने असारमा मात्र थप १७ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । अर्थात् असारसम्म वित्त व्यवस्थापनतर्फ १ खर्ब ६२ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको हो । प्रतिशतमा हेर्दा समग्र खर्च जेठ मसान्तसम्म ६५.५६ रहेकोमा असारसम्म आइपुग्दा ७६.६४ पुगेको छ । अर्थात् असारमा मात्र ११.०८ प्रतिशत खर्च भएको पाइएको छ ।