काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।
यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरले जानकारी दिए ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् मौलिक छ ।