काठमाडौं, २१ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यसपटकको बजेटमा उल्लेखित आयातित वस्तुको प्याकेजिङमा आयातकर्ताको लेबल लगाउने व्यवस्था कार्यान्वयन भएमा अवैध कारोबार घट्ने प्रतिक्रिया दिएको छ । एक विज्ञप्ति जारी गर्दै प्रदेश महासंघले भनेको छ ‘साउन १ गते देखि आयात हुने मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाउने व्यवस्थाबाट सीमामा हुने अवैध व्यापार केही हदसम्म निरुत्साहित हुन सक्नेछ ।’
यद्यपि बजेट कार्यान्वयन नहुने परिपाटी हट्नुपर्नेमा उसले जोड दिएको छ ।‘विगतको अनुभवले बजेट निर्माणका क्रममा अघि सारिएका कयौं प्रतिवद्धता तथा कार्यक्रम कार्यान्वयन नहुने अवस्था देखिएकाले बजेटको प्रभावकारी कार्यान्वयनपछि मात्र सही मूल्यांकन हुनेछ’ महासंघले भनेको छ । बजेटमा राखिएको आयको लक्ष्य महत्वकांक्षी रहेको प्रदेश महासंघको टिप्पणी छ ।