Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरको मेयर भिडन्तमा हर्क साम्पाङको जबर्जस्त प्रभाव


कीर्तिपुर नगरको मेयर भिडन्तमा हर्क साम्पाङको जबर्जस्त प्रभाव

काठमाडौं । कीर्तिपुर नगरको मेयर भिडन्तमा हर्क साम्पाङको प्रभाव जबर्जस्त देखिएको छ । आगामी १६ मंसिरका लागि तोकिएको उपचुनावलाई प्रभाव पार्ने पक्षमध्ये धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ पनि एक बन्न पुगेका छन् ।

दलहरूका उम्मेदवारको विकल्पमा राजमान मानव (राजमान महर्जन) लाई मेयर जिताउन साम्पाङले निरन्तर लाग्दा उनको प्रभाव काठमाडौंसम्म आइपुगेको हो । केटाकेटी चिह्न लिएर मेयर पदका प्रतिस्पर्धी बनेका राजमानले पनि हर्क साम्पाङलाई सम्मान दिएका छन् । उनले आफ्नो ब्यानरमै हर्क साम्पाङको तस्वीर समेटेका छन् ।

सरसफाई अभियानबाट चिनिएका राजमानको उम्मेदवारीलाई हर्कले पनि प्रतिष्ठाकै विषय बनाएका छन् । त्यसैले कीर्तिपुर आएर चुनावी सभामा भाग लिनेदेखि सामाजिक सञ्जालबाट मत माग्ने गरिरहेका छन् । मौन अवधि शुरु हुने दिन, आज मेयर साम्पाङले समयमै कुरा बुझे राम्रो हुनेछ भनी लगातार स्टाटस लेख्दै मत मागेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन जस्ता शीर्ष नेताहरूसँगै हर्क साम्पाङ आफ्ना उम्मेदवार जिताउन कीर्तिपुरमा भिडिरहेका छन्, जबकि नयाँ भनेर खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुरको मैदानमै छैन ।

रास्वपाले उम्मेदवारी दिनै नसक्नुले पनि हर्क साम्पाङ र उनी समर्थित राजमानप्रति आकर्षण देखिएको छ । यहाँका थुप्रै मतदाताहरू राजमानले प्रतिष्पर्धी मत ल्याउने अनुमान गर्छन् । कतिपय स्थानीयले भनेका छन्, ‘स्वतन्त्र उम्मेदवारहरू धेरै छन्, तर हर्क साम्पाङको समर्थन रहेको र आफ्नै परिचय पनि भएकाले राजमानले राम्रै मत ल्याउन सक्छन् ।’ 

उपचुनाव हुन लागेको ४२ स्थानमध्ये बढी चासोमा रहेको कीर्तिपुर मात्र नभएर मेयर साम्पाङको समर्थनमा काठमाडौंमै पनि उम्मेदवार छन् । काठमाडौं महानगर–१६ को वडाध्यक्ष पदमा सिलिन्डर चिन्ह लिएका स्वतन्त्र उम्मेदवार पशुपति कठायतलाई हर्कको समर्थन छ । कठायतको चुनावी र्यालीमा हिड्नेदेखि सामाजिक सञ्जालमा स्टाटस लेख्नेसम्म साम्पाङले गरिरहेका छन् । मेयर साम्पाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग राखेर राजनीतिक दल खोल्ने संकेत सार्वजनिक गरिसकेका छन् ।