काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूती हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् ।
जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मङ्गलबार जाजरकोट पुग्नुभएका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरुसँगको छलफलमा अहिले नै सबै कुरा सोचबिचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए ।
तत्काल बसोबासका लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालीन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए ।
यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिए । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । भुकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।