काठमाडौँ — साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २५.६३ अंकले घटेको छ । गत बिहीबारको तुलनामा १.१८ प्रतिशतले घटेर नेप्से २ हजार १ सय ३०.१८ विन्दुमा ओर्लेको हो ।
गत साताका अन्तिम दुई कारोबार दिन (बुधबार र बिहीबार) लगातार घटेको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो । गत आइतबार र सोमबार नेप्से उच्च अंकले बढेको थियो । बढेको बजारमा केही अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा बिक्री चाप परेको थियो ।
यहीकारण गत बुघबार यता सेयर बजारले ओरालो लागेको जानकारहरु बताउँछन् । आइतबार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसअनुसार अधिकांशको नाफा घटेको छ भने खराबकर्जा बढेको छ । यसले पनि आइतबार सेयर लगानीकर्ता निरुत्साहित भएको जानकारहरु बताउँछन् ।
आइतबार १ लाख ६६ हजार ९ सय ६६ हजार ९ सय ८३ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।