काठमाडौं । सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सुरक्षाको विषयमा ग्यास उद्योगीहरुले अझै प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले आफ्नै घरमा दुई पटक ग्यास सिलिण्डरबाट ग्यास लिकेज भएको बताए ।
‘ग्यासको सुरक्षा र गुणस्तरको विषयमा पहिलो प्राथमिकता राख्नु पर्छ । सुरक्षाको विषयमा उद्योगीहरु सचेत भई प्रभावकारी रुपमा भूमिका खेल्नु पर्ने जरुरी छ । तर, अहिले त्यो भएको जस्तो लाग्दैन,’ उनले भने, ‘मेरै घरमा दुई पटक सिलिण्डरबाट ग्यास लिकेज भयो । ग्यासको सुरक्षा र गुणस्तरलाई उद्योगले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’
उनले नेपाल आयल निगम जोगाउन पूर्ण स्वचालित प्रणाली कार्यान्वयन अतिआवश्यक रहेको बताए । पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली लागू भए पनि ग्यासमा कार्यान्वयन गर्न नसकेको स्वीकारे । उनले खाना पकाउने ग्यासको तत्काल कुनै विकल्प नभएको पनि बताए । ‘जापानजस्तो मुलुकमा अहिले पनि ग्यासको खपत अत्यधिक छ । आपतकालीन प्रयोगका लागि मौज्दात राखिन्छ,’ मुख्यसचिव अर्यालले भने, ‘नेपालमा पनि ग्यासको तत्काल कुनै विकल्प छैन । तर, कारोबारलाई थप सुरक्षित र व्यवस्थित बनाउनु पर्छ ।’
आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ग्यासकै कारण निगमलाई घाटा हुने गरेको बताए । अहिले ग्यासमा १ अर्ब घाटा भइराखेको उनले बताए । ‘आइओसीबाट नयाँ मूल्य आउँदा प्रतिसिलिन्डर २ सयदेखि ७ सय रुपैयाँसम्म बढेर आउँछ । तर, ग्यासको मूल्य बढाउन सकिँदैन । महिनौंसम्म मूल्य समायोजन नहुँदा मासिक अर्बौंको घाटा हुन्छ,’ साहले भने, ुडिसेम्बरकै कुरा गर्दा ग्यासकै कारण निगमलाई करिब १ अर्ब घाटा छ ।’
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले ग्यासमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने बताए । उनले बजारको मागअनुसार १४।२ किलोबाहेक १९ किलो, ४९ किलो र ४ सय ५० किलो तौल भएको ग्यासको सिलिण्डर बिक्री गर्ने नीति ल्याउनु पर्ने बताए ।
निगमका निवर्तमान कार्यकारी निर्देशक उमेश थानीले पनि ग्यासकै कारणले निगम चरम घाटा बेर्होनु परेको बताए । स्वचालित मूल्य प्रणालीलाई कडाईका साथ इमान्दारितापूर्वक कार्यान्वयनमा लैजानु पर्ने उनले बताए । ‘पूर्ण रुपमा स्वचालित मूल्य कार्यान्वयन गर्न प्रधानमन्त्रीदेखि मन्त्री र सचिवसम्म एक ढिक्का भएर सहयोग गर्नुपर्छ, मूल्य समायोजनमा कहींकतैबाट हस्तक्षेप गर्नु हुँदैन,’ उनले भने ।
ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले ग्यासको सुरक्षाको विषयमा स्थानीय निकायमार्फत जनचेतना मुलुक कार्यक्रम फैलाउनु पर्ने बताए । ग्याससम्बन्धी कार्यविधि ल्याएर डिलरलाई व्यवस्थित बनाउनु पर्ने बताए । बिक्रेता प्रमाणीकरणको कार्यक्रम तत्काल अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।