२८ असार, काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ । आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको हो ।
आईएमएफका एक अधिकारीले भने कि कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाई व्यवस्थालाई अनुमोदन गरेको छ । पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएको हो ।
बाँकी रकम दुई त्रैमासिक समीक्षापछि चरणबद्ध रूपमा वितरण गरिने आईएमएफले जनाएको छ ।
आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।
प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रममा खुसी व्यक्त गर्दै ट्वीटमा भनेका छन् कि आएमएफको कार्यकारी बोर्डले केहि समय अघि अमेरिकी डलरको स्ट्यान्ड–बाय सम्झौता स्वीकृत गरेको थियो । बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम हो । आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ । यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुने विश्वास लिएको छ ।