काठमाडौं । चालू आर्थिक वर्षको साउनमा काठमाडौं महानगरपालिकाले ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको वर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।
आव २०७७-०७८ देखि राजस्व संकलनको क्रमशः बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिना ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो ।पहिलो वर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो ।
आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० को पहिलो महिना १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो । पछिल्लो ४ वर्षमध्ये सबैभन्दा धेरै यही वर्ष संकलन भएको हो । यस वर्ष सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारीसाधन कर, बाँटफाँट भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँटफाँटबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तीय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।
प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ शुल्क, सिफारिस दस्तुरलगायत छन् । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजुलगायत हुन् ।
राजस्व संकलनमा यो वर्ष प्राप्त उपलब्धिमा केही प्रयासहरु कारण भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए । ‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फर्छ्योट तथा बक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ’, उनले भने ।