नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले यही साउन १४ गते (बुधबारसम्म)आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।
जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको,निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा निक्षेप (सीडी)अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेलगायत छन् ।