काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएपछि विवाद भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।
महासचिवका एक उम्मेदवार डा.केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।
निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ । उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।
डा.बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।