Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिबन्धका बेलाभन्दा पनि बढीले घट्यो आयात


प्रतिबन्धका बेलाभन्दा पनि बढीले घट्यो आयात

काठमाडौं। नेपालमा चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने महिना भदौमा यस आर्थिक वर्ष (आव) २०८०—८१ मा समेत ठूलो आयात नभएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको भदौमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ ।

यो अघिल्लो महिना साउनको तुलनामा मात्र १ अर्ब रुपैयाँ धेरै हो । अघिल्लो आव २०७९—८० को भदौ महिनामा मात्र १ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो । भन्सार विभागका अनुसार यस आवको पहिलो दुई महिना (साउन–भदौ)मा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.०६ प्रतिशत कम हो । सो आवको पहिलो दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण उपभोक्तामा खर्च गर्ने आत्मविश्वास फर्किसकेको छैन ।

यसको असर अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष रुपमा देखिएको सरोकारवालाले बताउँदै आएका छन् । सोहीकारण अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक रुपमै बजारमा आत्मविश्वास जगाउने खालका अभिव्यक्ति दिन आह्वान गर्दै आएका छन् । नेपालमा असोज र कात्तिक महिनामा पर्ने मुख्य चाडबाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी हुने सबैभन्दा धेरै वस्तु आयात भदौमा हुने गरेको छ । तर, यस आवमा भने चाडबाड लक्षित आयात उत्साहजनक नदेखिएको हो ।

निर्यात समेत खुम्चियो

तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिनामा निर्यात समेत खुम्चिएको छ । यस आवको साउन र भदौमा मात्र २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो । अघिल्लो आवमा २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । वस्तु आयात र निर्यात दुवैमा आएको कमीका कारण यस आवको पहिलो दुई महिनामा व्यापार घाटा र कुल वैदेशिक व्यापार समेत खुम्चिएको छ ।

यस आवको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । यो अघिल्लो आवको यसै महिनाको तुलनामा ४।७४ प्रतिशत कम हो । अघिल्लो आव दुई महिनामा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

कुल व्यापारको आधार दुई महिनामा २ खर्ब ८६ अर्ब ६१ करोड पुगेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५।३२ प्रतिशतले घटेको हो । अघिल्लो आवको पहिलो दुई महिनामा कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यस वर्ष पहिलो दुई महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७६ र निर्यातको हिस्सा ९.२४ प्रतिशत रहेको देखिन्छ ।

दुई महिनामा झण्डै ४५ अर्बको पेट्रोलियम आयात

भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालबाट झण्डै ४५ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालमा भारतबाट यस्तो वस्तु आयात हुने गर्छ । दुई महिनामा २४ अर्ब ४९ करोड रुपैयाँको आइरन र स्टील आयात भएको छ । यस्तो वस्तुको निर्यात समेत २ अर्ब ६२ करोड रुपैयाको भएको छ । दुई महिनामा ५ अर्बको तरकारीजन्य वस्तु आयात भएको छ ।

भारतसँग हुन्छ सबैभन्दा धेरै व्यापार

नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग हुने गरेको छ । पहिलो दुई महिनामा भारतबाट १ खर्ब ६० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट १६ अर्ब ७३ करोड रुपैयाँको वस्तु निर्यात हुँदा व्यापार घाटा १ खर्ब ४४ अर्ब रुपैयाँ देखिएको छ । चीनबाट ४६ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट मात्र ५४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।