काठमाडौं, २८ असार । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन् । उनले आमसन्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि पहल गरिरहेको बताइन् ।
बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका सवालहरुको जवाफमा मन्त्री शर्माले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको छ ।
मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम बढेको भन्दै डिजिटल साक्षरता प्रवद्धन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्ने कार्यमा सरकार निरन्तर प्रयासरत रहेको बताइन् । उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा पुगेको बताइन् । त्यस्तै, मुलुकका सबै वडामा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ ।