काठमाडौं । उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै परिवार आन्दोलित भएपछि जनकपुर न्यूरो अस्पतालले १० लाख रूपैयाँ दिएर मिलापत्र गरेको खुलेको छ ।
उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्नेमा प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको भन्दै आलोचनासमेत बढेको छ ।
अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो ।
डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन् । बालकका आफन्त वीरबहादुरले क्रिया खर्चबापत १० लाख रूपैयाँ दिने सर्तमा मिलापत्र भएको जानकारी दिए ।
‘१० लाखको चेक दिएपछि राति नै शव बुझ्यौं’, उनले भने । जिल्ला प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले मृतकका परिवार र अस्पतालबीच राति नै सहमति भएको बताए । सहमति के सर्तमा भएको कुरा थाहा नभएको र मृतकको शव राति नै परिवारले लगेको उनको भनाई छ ।