Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी सञ्चालक सम्पर्क विहिन हुने क्रम बढ्यो


सहकारी सञ्चालक सम्पर्क विहिन हुने क्रम बढ्यो

काठमाडौं । आफूहरुले जम्मा गरेको बचत रकम डुबाएर संचालकहरु भागेको भन्दै राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाका बचतकर्ताहरु आन्दोलित भएका छन् । मुठिया बचत कार्यक्रममा जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत सामेल गराइ स्वयंसेविका र अन्य बचतकर्ताहरुको गरी ११ करोडभन्दा बढी रकम अपचलन गरी सहकारीका संचालकहरु फरार भएको आरोप लगाउँदै बचतकर्ताहरु आन्दोलित भएका हुन् । पछिल्लो केही महिनायता ग्लोबल बहुमुखी सहकारी संस्थाका संचालकहरु सहकारीको कार्यालय बन्द गरी सम्पर्कविहीन छन् ।

ग्लोबलले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी संचालन गरेको बचत कार्यक्रममा जिल्लाभरिकी महिला स्वास्थ्य स्वयंसेविकाहरु जोडिएकी थिइन् । उनीहरुसँगै अन्य बचतकर्ताहरुसमेत ग्लोबल सहकारीमा रकम जम्मा गर्दै आएका थिए । तर बचत गरिएको रकम फिर्ता हुने समयमा बचतकर्ताहरु सहकारीमा पुग्न थालेपछि सहकारी संचालकहरु सम्पर्कविहीन हुँदा उनीहरु ठगिएको थाहा पाएका हुन् ।

उनीहरुले पटक-पटक जुलुस प्रदर्शन गर्दै स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यही माघ १४ गतेदेखि आन्दोलनका थप कार्यक्रम गर्ने बचतकर्ताहरुको तयारी छ । बचतकर्ताहरुले तात्कालीन अध्यक्ष सुखराम यादव र प्रबन्धक पंकज पोखरेलसहित सहकारीका संचालकहरुले बचत डुबाएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याएर आफूहरुको रकम फिर्ता हुनुपर्ने माग गरेका छन् ।

यसैबीच, ग्लोबल बहुमुखी सहकारी संस्थाका तत्कालीन अध्यक्ष सुखराम यादवले सहकारीले लगानी गरेको ऋण संकलन नभएपछि सहकारी समस्याग्रस्त भएको प्रस्टोक्ति दिए । ‘बचत गर्दै ऋण लगानी पनि हामी गर्दैथियौं,’ उनले भने, ‘तर सहकारीले गरेको ऋण लगानीको रकम फिर्ता आएन जसका कारण बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्या भयो ।’


राजविराज नगरपालिकाले २०७९ मंसिर २० गते सहकारी विभागलाई पत्राचार गर्दै ग्लोबल बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । जवाफमा सहकारी विभागले ०८० वैशाख ३१ गते राजविराज नगरपालिकालाई पत्र पठाउँदै सहकारी संस्थालाई समस्ययाग्रस्त घोषणा गर्न स्थानीय तहकै सहकारी ऐनमा भएको व्यवस्थाबमोजिम गर्न सुझाव दिएको थियो । तर त्यसपछि नगरपालिकाबाट यस प्रकरणमा कुनै चासो हुन सकेको छैन।

ग्लोबलका बचतकर्ताहरुले संचालकहरुविरुद्ध ठगी मुद्दासमेत दर्ता गराएका छन् । जसअन्तर्गत संचालकहरुमाथि अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।