काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.का ३६ सेवा केन्द्रका पीडितहरुले तत्काल सहकारीको सम्पत्तीबाट आफ्नो निक्षेप फिर्ता गराइन दिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् । करिब १५ महिनादेखि निक्षेप फिर्ताकालागि राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराउदा पनि कुनै उपाय नलागेको भन्दै उनिहरुले संघर्ष समिति अन्र्तगत आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन् । शनिवार बिहान काठमाडौंको कीर्तिपुर सेवा केन्द्र अगाडी विभिन्न ३६ वटा सेवा केन्द्रका पीडितहरु भेलाभई आगामी दवावका कार्यक्रमहरु तय गर्ने सहमति गरेका थिए ।
संघर्ष समितिका संयोजक लोकेन्द्र लम्सालले राज्यका कुनै पनि निकायले आफ्ना माग सम्बोधन नगरेको भन्दै आफै सडकमा आउन बाध्य भएको सुनाए । उनले अहिले सहकारीका सञ्चालकका नाममा रहेको चलअचल सम्पत्ती बैंकले रोक्का गर्ने प्रक्रियामा लागेको छ । विभिन्न उद्योगमा उत्पादन गरेको सामाग्री बैंकले जफत गरेको छ, यस्तो अवस्थामा निक्षेपकर्ताको रकम थप जोखिममा परेकाले तत्काल सहकारीको नाममा र सञ्चालकको सम्पत्तीबाट परिपूर्ती हुनेगरि रकम फिर्ताकालागि जस्तो सुकै कदम चाल्न तयार हुनुपर्ने बताए ।
सहकारीका सञ्चालक प्रहरी हिरासतमा रहेकाले निक्षेपकर्ताको रकम थप जोखिममा परेको उनको भनाई छ । उनले भने, ‘राज्यले सहयोग गर्छ भन्ने थियो, अहिलेसम्म भएन, सञ्चालकलाई प्रहरी हिरासतमा राख्दा निक्षेप थप जोखिममा पर्यो, अब हामीले उनिहरुको सम्पत्ती आफ्नो नाममा पास गर्नु बाहेक अन्य विकल्प छैन’ । सहकारी सञ्चालकले बिभिन्न बहानामा निक्षेप फिर्ता नदिने नमस्थीति बनाएकाले तत्काल उनिहरुले सम्पत्ती आफ्नो नामसारी गर्ने, थप दवावकालागि अन्य कार्यक्रम अघि बढाउने उनको भनाई थियो । सञ्चालक केदारनाथ शर्मा न्यौपानेले शिवशिखर बहुउद्देश्यीय तथा तुलसी सहकारी मार्फत् सर्वसाधारण निक्षेपकर्ताको करिब साढे १५ अर्ब रकम अपचलन गरेको खुलेको छ । उनिहरु अहिले प्रहरी हिरासतमा रहेका छन् ।
कीर्तिपुरका दुई सहकारीलाई भू-माफियाको आरोप
कीर्तिपुर नउगाउँमा रहेको दर्शन ऋण तथा बचत सहकारी लि. र नयाँ बजारमा रहेको कृषि विकास ऋण तथा बचत सहकारीले निक्षेपकर्ताको रकम सुरक्षीत गर्न जग्गा पास गर्दा केहि सिमित व्यक्तीले त्यसलाई भूमाफियाको संघ्या दिएका थिए । सहकारी सञ्चालकको कहिन कहि लगानी भएकै छ । जुन विषय सत्य हो तर, पछिल्लो समय देशको आर्थिक तरलता र बैंक तथा वित्तीय संस्थाको दादागिरीका कारण सहकारीहरु समस्यामा परेका छन् । यस्तो अवस्थामा सहकारीमा एकै पटक आएको निक्षेप फिर्ताको विषयले थप समस्या दिएको हो ।
यि दुई सहकारीले पछिल्लो समय निक्षेपकर्ताको रकम जोखिममा नपरोस् भन्नलाई ऋणीसँग ऋण असुली गर्दै उनिहरुको धितोमा रहेको जग्गा पास गरिरहेका छन् । तर, केहि सिमित स्वार्थ रहेका व्यक्तीहरुले त्यसको गलत प्रचार गरेको एक सहकारीकर्मीले भने । उनले भने, अहिले देशका अधिकांस सहकारीमा समस्या रहेको छ, त्यो सबैलाई थाह छ, यस्तो अवस्थामा हामीले निक्षेप सुरक्षीत गर्न ऋण असुली मार्फत आएको जग्गा पास गर्न खोजेको हो ।
उनले भने, ‘कीर्तिपुरका अधिकांस सहकारीहरुको मुख्य स्रोत भनेकै जग्गा हो, हामीले जग्गामा लगानी गरेका छैनौं तर,ऋणीबाट धरौटीमा लिएको जग्गा पनि पास गर्न नपाउने त हुदैन होला’ ? अहिले शिवशिखर लगायत अधिकांस सहकारी पीडित निक्षेपकर्ताले जग्गानै अन्तिम विकल्प भन्न थालेका छन्, हामीले यो विषय धेरै अघि उठाएका थियौं । उनले भने, १२ वर्षअघि ओरियन्टल सहकारी संस्थामार्फत त्यसका अध्यक्ष सुधीर बस्नेतले सर्वसाधारण निक्षेपकर्ताको ४ अर्ब अपचलन गरेको विषय अहिलेसम्मकै बहुचर्चित घटना हो ।
त्यसपछि ईच्छाराज तामाङ नेतृत्वको सिभिल सहकारीले ६ अर्ब रुपैयाँ अपचलन गरेपछि उनी जेलमा छन् । तर निक्षेपफिर्ताको कुनै नामनिशान छैन । उनले भने, बस्नेतले सहकारीको निक्षेप हाउजिंगमा लगानी गरे पछि बैंकले रकम भुत्तानीमा ताकेता गर्दा अन्नतः बैंकको कब्जामा हाउजिंग पुग्यो, बैंकलाई फाइदा भएपनि निक्षेपकर्ताले अहिलेसम्म फिर्ता पाएनन् ।