Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन प्रकरणः फरार व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ


सुन प्रकरणः फरार व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ

काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका फरार व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन् । रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

पक्राउपछि अध्यागमनले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए । उनका बुबा राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका छन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व अनुसन्धानबाट पत्र आएपछि रोहनलाई सोधपुछका लागि नियन्त्रणमा लिएर राजस्व अनुसन्धानलाई बुझाइएको जानकारी दिए पनि यता राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने रोहन अडुकियालाई कसैले पनि आफ्नो विभागमा नबुझाएको दाबी गरे ।

‘हाम्रो कार्यालय बन्द भइसकेको छ । कुनै निकायले रोहन नाम गरेका व्यक्तिलाई हाम्रो कार्यालयमा बुझाएको छैन,’ ढुंगानाले भने, ‘बुझायो भन्ने कार्यालयलाई नै सोध्नुस् उसले कसलाई कहाँ कुन समयमा बुझायो ।’

एक क्विन्टल बढी सुन तस्करी प्रकरणमा रोहनका बुवा राकेशमाथि अनुसन्धान जारी छ । रोहन डिजिटल वालेट एनक्यासका सञ्चालक हुन् । नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशले गतवर्ष दुई सय १२ पटक संयुक्त अरब एमिरेट्स (यूएई) र हङकङको यात्रा गरेको पाइएको थियो । अडुकिया बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, गाडी, हर्बल व्यवसायी हुन् ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।
क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् ।