एजेन्सी । भारतले विभिन्न देशमा रहेर पृथकतावादी आन्दोलन खालिस्तानको समर्थनमा लागेकाहरूको पहिचान गरी भारत प्रवेशमा रोक लगाउँदै सम्पत्ति नियन्त्रणमा लिने तयारी गरेको छ । क्यानडासँग उत्पन्न तनावका बीच भारतले त्यस्तो कडाइ गर्न लागेको हो । क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलियामा खालिस्तान समर्थक शिख समुदायका मानिस रहेको भारतले दाबी गर्दै आएको छ ।
- क्यानडाको ब्रिटिस कोलम्बिया राज्यमा रहेको एक गुरुद्वारामा खालिस्तान समर्थित झण्डा । तस्बिर : रोयटर्स
खालिस्तानले ती देशमा बेलाबेला प्रदर्शन तथा सभाहरू गर्दै आएको छ । साथै खालिस्तान समर्थकबाट भारतीय दूतावासमा आक्रमणका घटना पनि भएका छन् । त्यस्ता घटनामा संलग्न व्यक्तिको ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) रद्द गर्ने भारत सरकारको तयारी छ । विदेशी नागरिकता लिए पनि ओसीआईवाहकलाई भारत आउनलाई भिसा लिनु पर्दैन । भारतीय जाँच एजेन्सीले विदेशमा रहेका खालिस्तानी आन्दोलनलाई नेतृत्व गर्नेहरूको सूची तयार पारेर सम्बन्धित देशलाई दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले खालिस्तान देशको माग गरेर आन्दोलन गर्नेहरूलाई आतंकवादी सूचीमा राख्दै आएको छ ।
लोकतान्त्रिक देशहरूले भने आफ्नो भूमिमा अभिव्यक्तिको स्वतन्त्रता रहेको भन्दै खालिस्तान देश माग गर्नेमाथि कारबाहीमा आनाकानी गर्दै आएका छन् । जी–२० का बेला दिल्लीमा भएको द्विपक्षीय भेटमा भारतीय प्रधानमन्त्री मोदीले क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडोसँग क्यानडामा खालिस्तान समर्थकको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए । त्यस्तो गतिविधि हुन नदिन ट्रुडोमाथि मोदीले दबाब दिएका थिए ।
भारतपछि सबैभन्दा बढी शिख समुदाय क्यानडामा बसोबास गर्छन् र भारतले क्यानडामाथि खालिस्तानी समर्थकलाई कारबाही गर्नुको साटो संरक्षण दिँदै आएको भन्दै असन्तुष्टि प्रकट गर्दै आएको छ । सुरक्षा एजेन्सी स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको समाचारअनुसार १९ जना खालिस्तानी आतंकवादीको सूची भारतले क्यानडा, अमेरिका र बेलायतलाई दिइसकेको छ । भारतमा रहेको उनीहरूको सम्पत्ति सरकारले नियन्त्रणमा लिने नीति लिँदै छ । सरकारले खालिस्तानी आतंकवादीको सूचीमा राखेको पन्नुको अमृतसरमा रहेको घरजग्गा शनिबार नियन्त्रणमा लिएर त्यो सन्देश दिइसकेको छ ।
ती देशमा रहेर भारतविरोधी प्रदर्शन गर्ने, खालिस्तानको माग गर्दै आन्दोलन गर्ने, दूतावास, कन्सुलेट कार्यालयमाथि आक्रमण तथा कूटनीतिज्ञलाई धम्क्याउनेलगायतका कार्य गर्नेहरूको पहिचान गरेर उनीहरूको सूची सुरक्षा एजेन्सीले तयार पार्दै छ । त्यस्ता कार्यमा संलग्नको भारतीय पासपोर्ट रद्द गर्नेसम्मको तयारी सरकारको छ । साथै उनीहरूलाई भारत आएका खण्डमा विमानस्थलबाटै नियन्त्रणमा लिनेजस्ता रणनीति सुरक्षा एजेन्सीले तयार पारेको बताइएको छ ।
शिख समुदायको एउटा समूहले भारत स्वतन्त्र हुनुपूर्वदेखि नै अलग देशको माग गर्दै आन्दोलन गरिरहेका छन् । १९८० को दशकमा खालिस्तान आन्दोलनले उग्ररूप लिएको थियो । खालिस्तान समर्थकहरूले कैयौं हिंस्रक घटना गराएका थिए । पञ्जाब प्रान्तमा बिग्रिँदो शान्ति सुरक्षाको स्थितिलाई हेर्दै राष्ट्रपति शासनसमेत लगाइएको थियो ।
१ जुन १९८४ मा केन्द्र सरकारले खालिस्तानका मागकर्ताविरुद्ध अपरेसन ब्लु स्टार चलाएको थियो । अमृतसरको स्वर्ण मन्दिरमा हातहतियारसहित रहेका खालिस्तानी समर्थकलाई सुरक्षा फौजले घेरा हालेर कारबाही गरेको घटना नै उक्त ब्लु स्टार अपरेसनका रूपमा चिनिन्छ । त्यहाँ ४ सय ९२ जना मारिएका थिए । त्यस घटनाले इन्दिरा गान्धीको शिखविरोधी पहिचान बनेको थियो । र, उक्त घटनाको ५ महिनाभित्रै शिख अंगरक्षकले गान्धीको हत्या गरेका थिए ।