काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो ।
सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ । गत साता १८६० विन्दुमा रहेको नेप्से यो साता थप २ अंकले घट्न पुग्यो ।
समग्र साताभर नेप्सेको प्रदर्शन सन्तोषजनक हुन सकेन भने कारोबार रकममा सुधार देखिएको छ । साताभरका ५ कारोबार दिनमा कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । गत साता ४ कारोबार दिनमा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।
यो साता बैंकिङ क्षेत्रका सेयरधनीलाई मूल्यमा थप नोक्सान पुगेको छ भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् । यो साता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ ।