काठमाडौँ । पर्दामा देखेका सेलिव्रेटीलाई आफ्नै कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका छन् । महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सिकाइप्रति रुचि जगाउन कार्तिक ४ गतेदेखि सुरु गरेको ‘फेस्टिभल क्याम्प’अन्तर्गत प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कक्षाअन्तर्गत आज पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा, चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरे ।
कक्षामा उनले आफू अहिलेको ठाउँमा पुग्दा प्राप्त गरेका सफलता र उतारचढावका कथा सुनाए । कुनै ठाउँमा पुग्नका लागि तय गरिने यात्राको सहजताका लागि त्यसको तयारीले भूमिका खेल्छ । कुनै व्यक्तिको पेशागत यात्राको तयारी विद्यालय शिक्षा हो ।
उनीहरुले विद्यार्थीहरुले, तपाईको एसइइमा कति ग्रेड आएको थियो ? कहिले फेल पनि हुनुभयो ?, सबैभन्दा राम्रो अङ्क कुन कक्षामा ल्याउनुभएको थियो ? पढ्न मन नलागेर कहिले कक्षा छोड्ने सोच बनाउनुभएको थियो? कला क्षेत्रका चुनौती कस्तो छन् ? यहाँका सम्भावना के के हुन्?, सेलिब्रेटी हुँदा मनमा आउने भाव कस्ता हुन्छन् ? सेलिव्रेटीहरुलाई त नकारात्मक टिप्पणी पनि आउँछन्, कसरी सामना गर्नुहुन्छ? जस्ता प्रश्नहरु सोध्नुभएको थियो ।
दिपकराज गिरीले के भने ?
पढ्ने बेला मलाई गणित असाध्यै गाह्रो लाग्थ्यो । गणित नपढ्दा पनि हुनु नि जस्तो लाग्थ्यो । तर पनि नपढी सुखै थिएन । पढ्न त पढेँ । जतिञ्जेल गणित पढ्नु पथ्र्यो । त्यतिञ्जेल नै मलाई गाह्रो नै लाग्यो । त्यो बेलामा के पढेपछि कुन पेशा अपनाउन सकिन्छ भन्ने कुनै चेत थिएन । सोच थिएन । पढेको बेला लक्ष्य बनाउनै पाइएन । अरुले भनेका कुराले भन्दा जीवनमा सफल हुन आफ्नो मनले भनेका कुरा महत्वपूर्ण हुन्छन् ।
मेरै सन्दर्भमा कुरा गर्नुपर्दा मैले चलचित्र बनाउँछु भन्दा धेरै पत्याएका थिएनन् । म अभिनेता बन्ने कुरा त झन पत्याएनन् । कसैले रुपको कुरा गरे । कसैले उचाइको कुरा गरे । कसैले अनुहारको कुरा गरे । कसैले चालढाल मिल्दैन भने । यति सबै कुरा सुनेर पनि मैले आफ्नो लक्ष्यलाई छोडिन । निरन्तरता दिएँ । यही कारण अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित ठाउँ बनाउन सकेको छु । विद्यार्थी भाइबहिनीहरुलाई मेरो सुझाव चाहिँ तपाइँको सफलताले तपाईँको दृढता र कामप्रतिको निरन्तरताले प्रदान गर्ने भएकोले यसप्रति दृढताका साथ लाग्नू । तपाईँले सोचेको ठाउँमा एकदिन अवश्य पुग्नुहुनेछ ।
श्रृङ्खला खतिवडाले के भनिन् ?
सिकेको कुरामा टिक्न सक्नुपर्छ । टाढाबाट हेर्दा कुनै काम ठूलो देखिन्छ । नजिक पुग्दा त्यो सानो हुन्छ । अध्ययन त्यस्तै हो । एउटा तहलाई ठूलो देख्दा देख्दै त्यो सानो भएर अर्को ठूलो ठाउँ देखिन्छ । यसमा आत्तिनु हुँदैन । म सामान्य विद्यार्थी थिएँ । कक्षा ९ तिर हुँदा पाइलट बन्छु भन्ने लागेको थियो । धेरैले तँ राम्री छेस पाइलट होइन, एअर होस्टेज बन भन्थे । यसबेला पाइलटभन्दा माथिल्लो ठाउँमा पुग्नुपर्छ भन्ने लागेको थियो ।
तर, त्यो ठाउँ कुन हो थाहा थिएन । कक्षा १० सम्म पनि भविष्यमा के बन्छु सोचेकी थिएन । मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले पुल्चोक क्याम्पसबाट स्नातक तहको अध्ययन गरेकी हुँ । त्यहाँको इन्ट्रान्स परीक्षामा चौथो लिष्टमा नाम निस्किएको थियो । स्नातक उपाधि लिँदा पहिलो हुन सकेँ । यो मिहनेतको फल हो । मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले मोडलिङ् गरेकी थिएन । राम्ररी फोटो सुट पनि गरेकी थिइन ।
तर,क्याम्पसमा प्राप्त गरेको नतिजाले म मिस युनिभर्स हुन्छु भन्ने सोच आयो । म मिस नेपाल बन्नका लागि होइन, मिस युनिभर्स बन्नका लागि प्रतिस्पर्धामा गएकोले मिस नेपालको प्रतिस्पर्धामा सजिलै स्थान हासिल गर्न सकेकी हुँ । यसो भन्नुको अर्थ, ठूलो लक्ष्य लिँदा त्यससँग सम्बन्धित धेरै उपलब्धिहरु त लक्ष्य नबनाइ पनि प्राप्त हुन सक्छन् । यसकारण जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्न । तयारी भने गरिरहनु पर्छ ।
वाङ्देन शेर्पा के भन्छन् ?
प्रयत्न (इफोर्ट), डेडिकेसन (समर्पण) र प्रतिवद्धता (कमिटमेन्ट) यी ३ वटा अस्त्र जुनसुकै पेशामा पनि चाहिन्छ । व्यक्तिलाई पेशामा मर्यादित बनाउने साधन यिनै हुन् । धेरै मानिसहरु सपनाको देश भनेर अमेरिका जान्छन् । म त्यही अमेरिकामा इञ्जिनियरिङ् अध्ययन गरेर फर्केको हुँ । यहाँ आएर पनि कमाइ राम्रो थियो । यससँगै गायन क्षेत्रमा काम गर्ने इच्छा पूरा गर्दै अभ्यास गर्न थालेँ । यहाँ पनि मेरा लागि राम्रो छ । तपाईँलाई अध्ययन चाहिन्छ ।
सकेसम्म मनले जे बन्न रुचाएको छ । त्यही पढ्नु । कहिलेकाहीँ जीवनको कुनै मोडमा अध्ययन गरेकोभन्दा अर्कै पेशाबाट पनि स्थापित हुन सकिन्छ । यसका लागि आफूलाई तयार राख्नुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारका लागि विद्यार्थीहरुमा सिकाइप्रति अभिरुचि जगाउन आवश्यक रहेकोले महानगरपालिकाले १६ वटा विद्यालयमा २ हजारभन्दा धेरै विद्यार्थी सहभागी गराएर ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिरहेको छ ।
क्याम्पमा सञ्चालन हुने विविध क्रियाकलापमध्ये ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रम एउटा हो । यस कार्यक्रममा कला, साहित्य, संगीतसहित सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका चर्चित व्यक्तित्वले प्रेरणादायी कक्षा सञ्चालन गर्नुहुनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बाहिरी संसारमा पुग्ने यो महत्वपूर्ण अवसर हो ।