काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा दोश्रो दिनसम्म मागको आधा मात्र आवेदन परेको छ । बुधबारदेखि खुलेको आईपीओमा बिहीबारसम्ममा ७ लाख भन्दा बढी आवेदन परेका छन् । कम्पनीको आईपीओमा दोश्रो दिन एक करोड ३२ लाख ५१ हजार ५१० कित्ताको शेयर माग भएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहिबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ७ लाख ३३ हजार ६६ वटा आवेदन परेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।