काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशहरूमा यही पुस महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ ।