काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिजले ४२ हजार कर्मचारी निष्कासन गरेको छ । कुल कर्मचारी संख्याको ११ प्रतिशतलाई आर्थिक वर्ष २०२४ मा कम्पनीले जागिरबाट निकालिदिएको हो । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाउनुपरेको जनाएको छ ।
भारतको सबैभन्दा ठूलो रिटेल सञ्जाल र टेलिकम नेटवर्क सञ्चालन गर्ने रिलायन्सले नयाँ नियुक्ती संख्यासमेत घटाएको छ । कम्पनीको वार्षिक प्रतिवेदनअनुसार पछिल्लो वर्ष १ लाख ७१ हजार नयाँ कर्मचारी थप गरिएका छन् जबकी अघिल्लो वर्ष २ लाख ६३ हजार कर्मचारी नियुक्त गरिएको थियो । करिब १ लाख ४३ हजार कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए ।
रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स रिटेलले गत वर्ष १ सय अर्ब डलरको कूल मूल्यांकनमा १.८५ अर्ब डलर लगानी प्राप्त गरेको थियो । तथापी, वार्षिक आयवृद्धि दर घट्दै गएको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीको आय ७ प्रतिशतले बढेको थियो । अघिल्लो त्रैमासको तुलनामा १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिए पनि त्यसअनुरुप हुन सकेन । रिलायन्स रिटेलले आव २०२३ मा प्रतित्रैमास औसत ७४० वटा नयाँ स्टोर सञ्चालनमा ल्याइरहँदा यस पटक पहिलो त्रैमासमा जम्मा ८२ वटा नयाँ स्टोर खोलेको छ ।