Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राहु घाट–तातोपानी सडक निर्माण ढिला सुरु


राहु घाट–तातोपानी सडक निर्माण ढिला सुरु

काठमाडौं । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।

योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । मुख्य ठेकेदारले पेटी ठेक्का दिने,भौगोलिक कठिनाइ,प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण यो खण्डको निर्माण बिचमै अलपत्र परेको थियो ।

लामो समयसम्म योजना अलपत्र पारेपछि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने सम्मको चेतावनीपछि ठेकेदार कार्यस्थलमा फर्किएर काम थालेको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए । यो खण्डमा पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार,नाली,पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएकाले कालोपत्रेको तयारी गरिएको बताए ।

भौगोलिक रूपमा अफठ्यारो स्थानहरू चमेरे,वैसरी र महभिर बाहेकको सडक कालोपत्रे गर्नका लागि तयारी गरिएको शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले बताए ।उनले भने, ‘‘सब बेसको काम सम्पन्न भएर करिब ६ किलोमिटरमा बेस राखिसकेका छौँ । मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यस पालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ ।’’

यो खण्डमा विभिन्न स्थानमा गरेर ४ किलोमिटर जति पहिरो स्थल भएकाले ग्राभेल गर्ने र महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । बाँकी साढे दुई किलोमिटर साढे एक वर्ष अगाडी नै कालोपत्रे गरिसकिएको छ ।

सहायक ठेकेदार ओमकारेश्वरले राहु घाट पुल देखि कुनौटो सम्मको सडक अलपत्र पारेको र पटक पटक काम सम्पन्न गर्न ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताए ।