काठमाडौं । झन्डै तीन वर्षदेखि ऋणमा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड रुपैयाँ अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै मंगलबारदेखि ऋणमुक्त बनेको हो ।
रुस र युक्रेनको युद्धले कच्चा तथा प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । तेल मूल्य बढ्दै जाँदा एकै वर्षमा निगमले करिब ५० अर्ब रुपैयाँ घाटा बेहोरेको थियो । त्यसपश्चात् इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग इन्धन खरिद गर्दासमेत करिब ३३ अर्ब बक्यौता थियो ।
वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकामा मंगलबार ब्याजसहित सबै ऋण चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जुन ३१ र ब्याज जुलाई ८ मा तिरिएको हो । आजको कान्तिपुरमा खबर छ ।