काठमाडौं । सुरुङमार्ग निर्माणकमलागि सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ ।
सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने प्रशासनले जनाएको छ । सुरुङ निर्माणमा संलग्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यातायात संचालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पा तर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माण भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रजिअ काफ्लेले बताए । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङमार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म १ हजार १ सय २६ मिटरको रहनेछ ।
अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् । सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजना प्रमुख, सडक डिभिजन, सडक पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, सुरक्षा प्रमुखलगायतको सहभागितामा बसेको बैठकले तानसेन–रानीमहल सडक खण्डको बैकुण्ठे पहाडलगातयका स्थानमा सडक मर्मत गर्न एक महिना सडक बन्द गर्न माग गरेको छ ।