काठमाडौं, भदौ १८। काठमाडौंदेखि ताप्लेजुङको सुकेटारमा करिब तीन महिनादेखि बन्द भएको हवाई सेवा सुरु भएको छ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुरु गरेको हो । खराब मौसम लगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाडौं–सुकेटार उडान बन्द भएको थियो ।
मौसममा सुधार आएसँगै सोमबार देखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका ताप्लेजुङ प्रमुख सचिन तिवारीले बताए । लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ जना यात्री ताप्लेजुङ आएका छन् । ताप्लेजुङबाट भने एक जना यात्री काठमाडौं गएका छन् । नेपाल एयरलाइन्सले साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान गर्ने प्रमुख तिवारीले बताए । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्सातको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसै बीच पहिलाको भन्दा उडानको भाडादर समेत घटाएको छ । काठमाडौं–ताप्लेजुङको भाडा यस अघि नौ हजार ६ सय ५३ रुपैयाँ थियो । सो भाडा घटाएर अहिले आठ हजार ६ सय कायम गरिएको छ । यस्तै, ताप्लेजुङ–काठमाडांैको भाडा यसअघि नौ हजार चार सय ५३ रुपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ ।