काठमाडौं । मधेश प्रदेशमा मिटरब्याजीविरुद्धको १७ हजार ८ सय ५६ उजुरी परेका छन् । संघीय सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरधाममा स्थापना गरेपछि जिल्ला जिल्लामा सो विरुद्धको उजुरीको संख्यामा बढेको छ । उजुरी दिनेको संख्या बढ्दै भएपछि उजुरी लिने समय पनि थपिँदै गएको छ ।
सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी लिने भनेर समय तोकिएको थियो । त्यस अवधिमा उजुरी दिनेको संख्या बढ्दै गएपछि म्याद थप गरी १४ जेठ गतेसम्मका लागि बढाइएको थियो । तर अझै पनि जिल्लामा आउने मिटरब्याजी विरुद्धको उजुरी अनलाइनमार्फत दर्ता भइरहेको छ ।
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजपीडितका लागि १७ वैशाखदेखि देशभर उजुरी दिन आह्वान गरेको थियो ।
मधेश प्रदेशमा १७ हजार ८ सय ५६ उजुरी
अहिलेसम्म मधेश प्रदेशका विभिन्न ८ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याजीविरुद्ध १७ हजार ८ सय ५६ वटा उजुरी परेका छन् । सूचना आह्वान भएदेखि अहिलेसम्म मधेश प्रदेशका ८ जिल्लामा अनलाइनमार्फत ४ हजार ५३३ गरी जम्म १७ हजार ८ सय ५६ वटा उजुरी परेको आयोगले जनाएको छ ।
मिटरब्याजीविरुद्ध सबभन्दा बढी बारा जिल्लामा ३ हजार ३२२ उजुरी परेका छन् भने सबभन्दा कम पर्सामा १ हजार ३ सय उजुरी मात्र परेका छन् । त्यसैगरी, धनुषामा २ हजार ६११, सिरहामा २ हजार ९१६ उजुरी र महोत्तरीमा २ हजार १९४ उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।
रौतहटमा २ हजार ४७, सर्लाहीमा १ हजार ९२० र सप्तरीमा १ हजार ५४६ उजुरी परेको आयोगले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आयोगका अनुसार सबभन्दा बढी मधेश प्रदेशमा, कोशी प्रदेशमा ३७७, बागमती प्रदेशमा ३३४, गण्डकीमा १४०, लुम्बिनीमा ३ हजार १२, कर्णालीमा १०८ र सुदरपश्चिममा २४९ वटा गरी साढे २१ हजार उजुरी परेका छन् ।