काठमाडौं । ६ मिनेट लामो क्लाइमेक्सको दृश्य काटेर चलचित्र जाँच समितिले फिल्म ‘कौसीद’लाई प्रदर्शन अनुमति दिएको छ । शिक्षकले घुस खाएको सन्दर्भमा कैंची चलाएर फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । निर्माता केदार भुसालले क्लाइमेक्सको दृश्य काटेर फिल्मको नयाँ लम्बाइ ८६ मिनेट तय भएको बताए । ‘उहाँहरुले कि रिसुट गर, कि परिमार्जन गर भने’ सेन्सर बोर्डको जवाफबारे भुसालले भने, ‘रिसुट सम्भव थिएन ।
समस्या सिर्जिएको दृश्य काटेरै फिल्म चलाउन हामी राजी भयौं ।’ क्लाइमेक्सको दृश्यमा शिक्षक पात्रले घुस खाएकोप्रति बोर्डले आपत्ति जनाएको निर्माताले बताए । ‘यो दृश्य राख्दा नीतिगत रुपमै कर्मचारीमाथि औंला ठडाएजस्तो देखियो भन्नुभयो । जिन्दगी चलाउन घुस खाएर परिवारलाई खुसी राखेकोजस्तो देखियो भनेः’ भुसालले भने ।
प्रमाणपत्र पाएपछि फिल्म शुक्रबार बेलुकादेखि रिलिज भएको उनले बताए । तर सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिंदा फिल्मको बिहानी र दिवाकालीन शो रोकिएका थिए । जसले फिल्मको ओपनिङमा असर पारेको छ ।