काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा चामल आयातमा कमी आएको छ । अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) चार अर्ब १९ करोड ४१ लाख रुपियाँ बराबरको चामल आयात भएको थियो ।
गत वर्ष सो अवधिमा सात अर्ब २९ करोड ४० लाख रुपियाँ बराबरको चामल आयात भएको थियो । अघिल्लो वर्षको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा तीन अर्ब रुपियाँले चामल आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । बजारमा चामलको खपत कम हुँदा आयातमा गिरावट आएको हो ।
चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपियाँ बराबरको चामल, मकै, धान, गहुँ, कोदो आदि आयात भएको छ । गत वर्ष सो अवधिमा २० अर्ब ३१ करोड १७ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको पाँच महिनामा समग्र खाद्यान्न आयातमा तीन अर्ब रुपियाँले कमी आएको तथ्याङ्कले देखाएको छ ।
पाँच महिनामा सबैभन्दा धेरै चार अर्ब ९५ करोड ८७ लाख ८८ हजार रुपियाँ बराबरको मकै आयात भएको छ । मकै पोल्ट्री फार्ममा दानाको प्रयोगका लागि आउने गरेको छ । यस्तै चार अर्ब ९० करोड ७२ लाख रुपियाँ बराबरको धान आयात भएको छ । चार अर्ब ३१ करोड ९७ लाख रुपियाँ बराबरको गहुँ आयात भएको छ । यस्तै ३४ करोड १६ लाख रुपियाँ बराबरको कोदो, ८९ लाख रुपियाँ बराबरको जुनेलो आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आउने गरेकामा यस वर्ष भने आयातमा कमी आएको छ ।
विभागका अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँ बराबरको चामल मात्र आयात भएको थियो । आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो । गत आवमा सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण पनि खाद्यान्न आयातमा कमी आएको थियो ।
यस्तै आव २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण अघिल्लो वर्ष खाद्यान्न आयातमा कमी आएको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।