Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरमा कांग्रेसले गाड्यो झण्डा, नपाको प्रमुखमा डंगोल विजयी


कीर्तिपुरमा कांग्रेसले गाड्यो झण्डा, नपाको प्रमुखमा डंगोल विजयी

काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । 

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे भने सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।

राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले 'क्लिन स्विप' भएको थियो ।

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए ।