काठमाडौं । अहिले सहकारी संस्थाहरुले शेयरसदस्यको रकम फिर्ता गर्न नसकेका धेरै घटनाहरु एक पछि अर्काे बाहिरिएका छन् । अधिकांस सहकारी संस्थाहरु बचत फिर्ता नगर्दा ठगीको सूचीमा पर्दै गएका हुन । देशको आर्थिक तरलता र विभिन्न कारण देखाउदै सहकारी संस्थाहले निक्षेप फिर्ता गर्न आनाकानी गरिरहेका छन् । अप्ठेरो अवस्थामा साहारा बन्ने भन्दै किसान, मजदुर तथा साना व्यवसायीहरुले जम्मा गरेको बचत रकम नै हिनामिना गरेर कति सहकारी सञ्चालक फरार भएका छन् भने, कतिलाई प्रहरीले थुनामा राखेको छ । सहकारी संस्थाहरुले आफ्ना सेवा केन्द्र विस्तार गर्दै विभिन्न क्षेत्रबाट मोटो रकम उठाउने र त्यसको अपचलन बढ्दै गएको पाइएको छ । अहिले निक्षेपकर्ताले न ब्याज पाएका छन्, सावाको कुरा त धेरै परैको भयो ।
त्यसको पछिल्लो उदाहरण बनेको संस्था हो शिवशिखर बहुउद्धेश्यीय सहकारी । मुख्यगरि काठमाडौं उपत्यकामै सेवा केन्द्र विस्तारगरि रकम असुली गर्ने सहकारी संस्थाहरुको लिष्ट ठुलो छ । सेवा केन्द्र विस्तार गर्दा सहकारी संस्था ठुलो देखिने र मोटो रकम जम्मा हुने भएपछि एक पछि अर्काे सेवा केन्द्र विस्तार गरेका सहकारी संस्थाहरुले त्यस क्षेत्रको करोडौं रकम बन्धक बनाएको खबर दिनप्रतिदिन बढ्दो छ । पछिल्लो समयमा काठमाडौं उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित सहकारीमा मात्र बचतकर्ताको करिब ३५ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको सहकारी विभागको तथ्याङक छ ।
उपत्यकामा सञ्चालनमा रहेका सहकारीमध्ये दर्जनौं संस्थाले पैसा फिर्ता नदिएको भन्दै विभागमा उजुरी परेको छ । तीमध्ये मुख्य १० वटामा मात्र करिब ३५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको र ती संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन् । तीमध्ये दुईवटा संस्थालाई त सरकारले समस्याग्रस्त घोषणा नै गरिसकेको छ, बाँकी पनि त्यही प्रक्रियामा छन् । शिवशिखरमा बचतकर्ताको झन्डै ११ अर्ब, कान्तिपुर बचत तथा ऋण सहकारीमा ६ अर्बभन्दा बढी, गौतमश्री बहुउद्देश्यीयमा साढे पाँच अर्बभन्दा बढी, सुमेरु सेभिङ एन्ड कोअपरेटिभमा करिब चार अर्ब, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा करिब ३ अर्ब, देउराली बहुउद्देश्यीयमा करिब साढे दुई अर्ब, तुलसी बहुउद्देश्यीयमा करिब सवा एक अर्ब र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामा करिब एक अर्ब रुपैयाँ निक्षेप रहेको र त्यो फिर्ता हुन सकेको छैन ।
१० ठुला सहकारी मध्ये दुई वटा सहकारी शिवशिखर र कृषि विकासको सेवा केन्द्र कीर्तिपुरमा पनि छन् । दुबै सेवाकेन्द्रबाट यस क्षेत्रको ठुलो रकम हिनामिना भएको पाइएको छ । कीर्तिपुरको नयाँ बजार क्षेत्रमा लोभलाग्दो कार्यालय सञ्चालन गर्दै निक्षेप कर्तालाई महंगो ब्याजको लोभमा करोडौं रकम उठाएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । मुख्यगरि सहकारी संस्थाहरुले विभिन्न बहानामा शेयरसदस्य तथा निक्षेपकर्ताहरुलाई ब्याजको लोभ देखाउने र रकम असुल गर्ने गरेको पाइएको छ ।
शिवशिखरले यस क्षेत्रबाट करोडौं रकम निक्षेप संकलन गरेको र अहिले त्यो रकम फिर्ता हुने संभावना न्यून बन्दै गएको भन्दै यस क्षेत्रका मानिसहरु चिन्तीत छन् । त्यस्तै कृषि विकास बुहउद्धेश्यीय सहकारी संस्था लि.ले पनि सेवा केन्द्र सञ्चालनगरि यस क्षेत्रको ठुलो रकम हिनामिना गरेको बुझीएको छ । कीर्तिपुरको व्यस्त र व्यवसायीक क्षेत्र मानिने नयाँ बजारमा सेवा केन्द्र स्थापनागरि यस क्षेत्रको करोडौं रकम अपचलन गरेको यस क्षेत्रका बचत कर्ताहरुको भनाई छ ।
यसरी विभिन्न क्षेत्रमा सेवा केन्द्र खोल्ने र त्यसक्षेत्रका निक्षेपकर्ताबाट रकम असुल गर्ने धन्दा रोकिएको छैन् । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा भएको करिब एक अर्ब रुपैयाँ निक्षेप मध्य कीर्तिपुरक्षेत्रको पनि सानो रकम छैन् । दुबै सहकारीहरुले कीर्तिपुरको ठुलो रकम हिनामिना गर्दा यस क्षेत्रमा सञ्चालित अन्य सहकारीमा ठुलो असर परेको छ । कीर्तिपुर सहकारी संघ लि.का अध्यक्ष दिल बहादुर महर्जनले बाहिरबाट सेवा केन्द्र सञ्चालनगरि यस क्षेत्रका बचतकर्ताहरुलाई प्रलोभनमा पारेर उठाइएको रकम अब कहिले फिर्ता होला ? उनले भने, ‘हामीले कीर्तिपुरमा सेवा केन्द्र सञ्चालन गर्दै आएका सहकारीबाट बच्न आग्रह नगरेको होइन तर, समयमै संस्थाको नियतको पहिचान नहुदा समस्या आएको छ । यसले गर्दा स्थानीय स्तरमा सञ्चालनमा रहेका अन्य सहकारी संस्थाहरुलाई समस्या परेको छ’।
नियममा के छ भने, सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, त्यसको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था सहकारी ऐन २०७४ मा छ । सहकारी ऐन २०४८ लाई प्रतिस्थापित गर्दै २०७४ मा नयाँ ऐनमा पनि सदस्य केन्द्रित मात्र कारोबार गर्नुपर्ने व्यवस्था छ । पुरानो ऐनमा गैरसदस्यमा कारोबार गरे सजायको व्यवस्था थिएन । अहिले जरिवाना र जेल सजायसम्मको व्यवस्था छ । तर, सहकारी संस्थाहरुमा अहिले पनि गैर सदस्यको संख्या धेरै छ । एक अभियान्तले भने, अहिले सहकारीहरु थप समस्यामा आउनु गैर सदस्यको संख्या बढी हुनुले पनि हो । ऋण असुलीमा समस्या बढ्दै जानु, गैर सदस्यको संख्या धेरै हुनु, विनाधितो ऋण प्रवाह मुख्य कारण हुन । यस्तै अवस्था रहे अब सहकारी संस्थाहरुको नाम निशान मेटिने छ ।
सहकारी विभागको तथ्याङक अनुसार आर्थिक सर्वेक्षण, ०७९\८० का अनुसार ०७९ फागुनसम्म सहकारीको संख्या ३१ हजार ३ सय ७३, सेयर संख्या ७३ लाख ८१ हजार २ सय १८ र सेयर पुँजी ९४ अर्ब ५० करोड छ । सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ । ०७९ असारसम्म सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगारी रहेकामा ०७९ फागुनसम्म यस्तो रोजगार ९३ हजार ७ सय ७१ पुगेको छ ।
सहकारी गतिविधिलाई विश्वासनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्यांकका लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा ०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आबद्ध छन् । यस आर्थिक वर्षको फागुनसम्म ३ हजार २ सय ४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आबद्ध छन् ।