Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल व्यापार सर्वेक्षणःकरिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा


नेपाल व्यापार सर्वेक्षणःकरिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौं । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको हो ।

सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ । त्यस्तै कोशी प्रदेशका ३८ दशमलव पाँच, कर्णालीका ३३ दशमलव आठ, सुदूरपश्चिमका २८ दशमलव आठ, लुम्बिनीका २६ दशमलव नौ, गण्डकीका २५ दशमलव एक र बागमतीका २४ दशमलव सात प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् ।

थोक व्यापार गर्ने छ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ । सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् ।

दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन् । व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव नौ प्रतिशत रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका १६ दशमलव चार, कोशीका १६ दशमलव आठ, मधेसका १४ दशमलव तीन, गण्डकीका नौ दशमलव पाँच, सुदूरपश्चिमका पाँच दशमलव नौ र कर्णालीका चार दशमलव दुई प्रतिशत रहेका छन् । व्यापारमा जोडिएका कूल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८ दशमलव ६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ ।

व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ । सर्वेक्षणले यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब त्याला र अन्य सुविधा नलिइ परिवारका सदस्य नै काममा सन्तान रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ । यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या दुई लाख १९ हजार पाँच सय ५१ छ ।

जसमा महिला ४५ हजार नौ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन् । तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक रु छ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ । त्यस्तै प्रतिकामदार औसत वार्षिक रु दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ ।

होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीन वटा क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको छ । जसमा सबैभन्दा धेरै मुनाफा (मार्जिन) सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ । यस क्षेत्रमा २४ दशमलव ०२ प्रतिशत मार्जिन देखिएको छ । त्यस्तै, होलसेल व्यापारमा १३ दशमलव ०१ र खुद्रा व्यापारमा १८ दशमलव २८ प्रतिशत मार्जिन रहने गरेको देखिएको छ । समग्रमा व्यापारमा १८ दशमलव ५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ । व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा रु एक एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च रु दुई लाख ६४ हजार देखिएको छ ।

यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर ९ट्रेड मार्जिन० अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलबरज्याला, पुँजी निर्माण आदि तथ्याङ्क आकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।

यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिकरुपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ । कूल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्याङ्क र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ ।