काठमाडौं, भदौ ७। दुग्ध विकास संस्थान (डिडिसी) धराशायीको अवस्थामा पुगेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको अध्ययनका लागि एक कार्यदल गठन गरेको छ । पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. सूर्यप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय अध्ययन कार्यदल गठन भएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गठन भएको सो कार्यदलले अध्ययन गरेर दुई महिनाभित्र आफ्नो प्रतिवेदन मन्त्रीलाई बुझाउने छ । डिडिसी घाटामा गइरहेको छ, किसानको भुक्तानी पनि समयमा दिन सकिरहेको छैन । आम्दानी भन्दा लगानी बढी भएको छ, जनशक्तिको भार पनि बढेको छ, यी सब कारणले डिडिसी दिनदिनै धराशायी अवस्थामा पुगिरहेको छ । तीन महिना देखि किसानलाई भुक्तानी दिएको छैन । किसानलाई करिब ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ भने यता ५० करोड रुपैयाँ भन्दा बढीको धुलो दुध, बटर बिक्री नभएर भण्डारमा थन्किएर बसेको छ।
कर्मचारीलाई उपदान दिन कोषमा रकम छैन । नागरिक लगानी कोष र सञ्चय कोषमा नियमित रकम दाखिला भएको छैन । सरकारसँग लिएको सहुलियत ऋणको रकम पनि चुक्ता गर्न सकेको छैन । यी सब कारणले डिडिसीको अवस्था दिनदिनै कमजोर भइरहेको देखेर कृषिमन्त्री डा। वेदुराम भुसालले अध्ययनका लागि कार्यदल गठन गरेका छन्। डिडिसीलाई पूर्ण रूपमा रूपान्तरण गर्नका लागि यो कार्यदल गठन गरिएको हो । यसअघि पनि मन्त्रालयले डिडिसीका बारेमा अध्ययन गर्न एउटा कार्यदल गठन गरेको थियो ।
त्यसले अध्ययन गरेर मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यसलाई कार्यान्वयन नै नगरी अर्को कार्यदल गठन गरेको छ । यो कार्यदलले आफ्नो काम पनि सुरु गरिसकेको छ । कार्यदलका संयोजक पौडेलले डिडिसीका कागजातहरू अध्ययन गर्ने काम भइरहेको र सो अध्ययनपछि फिल्ड रिपोर्टिङ तथा प्राविधिक अध्ययन गर्ने बताए ।