पाँचथर-पाँचथरको सदरमुकाम फिदिम बजार र आसपासका क्षेत्रमा खानेपानीका महसुल नबुझाउने उपभोक्ताका धाराको लाइन काट्न थालिएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तीन महिनाभन्दा धेरै महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्न थालेको हो । फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ नम्बर वडामा २ हजार ६ सय उपभोक्ताका घरमा धारा जडान गरिएको छ ।
तीमध्ये एक हजारभन्दा धेरै ग्राहक नियमित महसुल तिर्दैनन् । उपभोक्ता समितिको तथ्यांकअनुसार हाल ५६ लाख रुपैयाँ महसुल उपभोक्ताका नाममा बक्यौथता छ । पटक-पटक अनुरोध गर्दा पनि महसुल नबुझाएपछि धारा काट्न थालिएको गुरुङले बताए । ग्राहकका नाममा १० हजारदेखि ३ लाख ५२ हजार रुपैयाँसम्म बक्यौता छ । सबैभन्दा धेरै पाँचथर जिल्ला अदालतले मात्रै ३ लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।