काठमाडौं । प्राथमिक निष्कासन आईपीओ मा प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा किनेको सोनापुर मिनरल एन्ड आयल लिमिटेडको सेयर म्युचुअल फन्डले नै घाटा खाएर दोस्रो बजारमा धमाधम बिक्री गरेका छन् ।
आइतबार प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशतका दरले ३ दिनसम्म घट्दै मंगलबार २५५ रुपैयाँमा झरेको थियो । बुधबार यो कम्पनीको मूल्य २३० रुपैयाँसम्म झर्यो । अघिल्ला तीन दिनसम्म थोरै–थोरै संख्याका सेयर मात्रै बिक्री भएका थिए, जसले गर्दा म्युचुअल फन्डले पनि बेच्न सकेनन् ।
म्युचुअल फन्डले ठूलो परिमाणमा सोनापुरको सेयर बिक्रीका लागि आदेश हालेपनि यसअघि बिक्री हुन सकेको थिएन । बुधबार कारोबार खुलेको केही सेकेन्डमै कम्पनीको मूल्य २३० रुपैयाँसम्म झरेको थियो ।