काठमाडौं, १० असार । पशुपतिनाथमा राखिएको सुनको जलहरी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापजाँच गरेको छ । मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि छानबिन गरिरहेको अख्तियारले नापजाँच गरेको प्रवक्ता भोला दाहालले बताए ।
अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी, विज्ञ, खानी तथा भूगर्भविभागका अधिकारी र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर जलहरीको तौल लिने र गुणस्तरसमेत जाँच्ने अख्तियारले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा विवाद उत्पन्न भएपछि अख्तियारमा उजुरी परेको थियो ।