काठमाडौं । गत शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्पका कारण गन्धर्व समुदायको बिचल्ली भएको छ । जाजरकोट जिल्लाका विभिन्न स्थानमा रहेका करिब ६०-६४ घरका गन्धर्व परिवार अहिले खुला आकाशमा रात विताउन बाध्य भएका छन् । जाजरकोटको गागटिया, जगतिपुर, बाटुले र ढिमेमा रहेका ६४ घर मध्य १५—२० घर पुर्णरुपमा क्षति भएका छन्, भने अन्य घरहरु चिरा परेका छन् ।
जसले गर्दा गन्धर्व समुदाय चिसोमा खुला आकाश मुनी बस्न बाध्यभएका छन् । सरकाले स्थानीय सरकार मार्फत भूकम्प पीडितलाई एकद्धारा प्रणालीबाट राहत वितरण जारी राखेपनि गन्धर्व बस्तीमा राहत पुग्न सकेको छैन । जाजरकोट सदरमुकामबाट करिब ४ घण्टा र एक दिनको बाटोमा रहेका गन्धर्व बस्तीमा राहत नपुगेको स्थानीय जटिल गन्धर्वले बताए । उनले भने, हाम्रो समुदायमा भूकम्पबाट कुनै मानविय क्षेति नभएपनि माटोले बनेका घरहरुमा क्षति भएको छ ।
उनले भने, “हामीले स्थानीय सरकारसँग राहतकालागि पहल गरेपनि अहिलेसम्म नपाएको बताए । अहिले राहत सदरमुकाम केन्द्रीत बनेको छ । ४ घण्टाको बाटो हिडेर सदरमुकाम पुग्ने अधिकांस रित्तै फर्किने गरेका छन्” । उनले भने, “स्थानीय सरकारले भूकम्पमा मृत्युभएका परिवारलाई पहिलो प्राथमिकता दिएको छ । हामी सँग अहिले न त्रिपाल छ, न खाद्यन्न” । भूकम्प भएको एक साता पुग्न लाग्दा पनि गन्धर्व समुदायले राहत पाएका छैनन् ।
स्थानीयका अनुसार अहिले जाजरकोटको गागटिया क्षेत्रमा गन्धर्व धेरै प्रभावित बनेका छन् । उनिहरुसँग टहराकालागि त्रिपाल छैन भने, खानाकालागि खाद्यन्न । बालबालीका, बृद्धबृद्धा र सुत्केरी बढी प्रभावित भएको स्थानीय जटिल गन्धर्वको भनाई छ । अहिलेपनि परकम्प आउने भएकाले थप समस्या बढेको उनको भनाई छ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको छ । भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको छ ।