काठमाडौं, नेपालीहरुको महान चाड दशैं तिहार र छठका लागि देशभरका यातायात व्यवसायीले ६०० नयाँ गाडी थप्ने भएको छ। बिशेषगरी राजधानी काठमाडौंबाट ७७ ओटै जिल्लामा दशैं मनाउन लाखौंको सङ्ख्यामा मानिसहरु आफ्नो गाउँ फर्किने गरेका छन् ।ट्राफिक प्रहरी महाशाखाका अनुसार गत बर्ष १७ लाख हाराहारी मानिसले दशैंमा काठमाडौं छोडेका थिए । यस बर्ष यात्रुको सङ्ख्या बढ्ने आँकलनपछि यातायात व्यवसायीले ६०० सय नयाँ गाडी थप्ने बताएका हुन्।
चाडपर्वलाई लक्षित गर्दै भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात विभागका कर्मचारीले सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउन छलफल गरिरहेका छन्। गत शुक्रबार देखि यातायात मन्त्रीले यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग चाडपर्वमा यात्रुलाई सहज सेवाका लागि छलफल गरेका छन्। सो छलफलमा यातायात व्यवसायीले देशभरका सडकको अवस्था र यातायात व्यवसायीको भाडा समायोजनको बिषयलाई उठाएका थिए ।नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बिजय स्वारले देशभरका यातायात व्यवसायीले दशैं तिहारमा ६ सय गाडी थप्ने बताएका छन्।
चाडपर्वले सबै क्षेत्रमा उत्साह ल्याउदा सार्वजनिक यातायात पनि स्वभाविक रुपमा उत्साहित छौं स्वारले भने उनले अग्रिम टिकट बुकिङ भन्दा पनि सडकको अवस्थालाई सरकारले स्तरउन्नती गर्नुपर्ने बताए।बर्खाले देशभरका अधिकांश सडक ध्वास्त भएको र सबैभन्दा बढी गाडी चल्ने नारायणगढ मुग्लिन सडक खण्डमा अहिलेको सबैभन्दा समस्या रहेको भन्दै मन्त्रालयलाई जानकारी दिएको अध्यक्ष स्वारको भनाइ छ।दशैंमा नयाँ बसपार्क क्षेत्र, पूर्व अरनिको यातायामा अत्याधिक भिडभाड हुने गरेको छ।यातायात विभागका महानिर्देशक उद्धव रिजालले असोज तेस्रो साता भित्र अग्रिम टिकट बुकिङ खोल्ने प्रारम्भिक प्रस्ताव भएको तर, निर्णय नभइसकेको बताए । समान्यतया दशैंको १५ दिन अघिदेखि टिकट बुकिङ खुल्ने गरेको छ, यसपाली पनि सोहि समयमा खुल्ने तयारी छ।
उनले दशैं तथा चाडपर्वमा धेरै दुर्घटना हुने गरेकाले यसपाली पुराना सार्वजनिक सवारीको अनुगमनलाई पनि प्राथमिकतामा राखिएको बताए ।विगतका बर्षहरुमा अनलाइन टिकट बुकिङको व्यवस्था भएपनि खासै प्रभावकारी हुन सकेको थिएन। धरै यात्रुलाई अनलाइन टिकेटिङ बारे जानकारी नै थिएन। पछिल्लो समय अनलाइन टिकट कम्पनीहरुले पनि यस्तो व्यवस्था गर्दै आएका छन्। नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको बताएको छ। देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको बताएको छ। सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न सक्निे धएको छ।