काठमाडौं, २८ असार । बजेटमा असन्तुष्टि बढ्दै गएको समयमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई राष्ट्रिय सभामा सदस्यहरुको प्रश्नको सामना गर्न हम्मेहम्मे परेको छ । राष्ट्रीय सभाबाट पारित भएसंगै बजेट कार्यान्वयनमा आउने भएकाले अर्थमन्त्री महतले बिहिबारको राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको सामना गर्नु पर्यो । उनले ठुलो समस्याका रूपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरूक भएर लागेको बताए ।
कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे । बिहीबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उनले विभिन्न स्वरूपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताए । आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताए ।
मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिए । विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्री डा महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताए । उनले राष्ट्रियसभाका सदस्यका तर्फबाट प्राप्त भएको सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री डा. महतले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको बताए ।
बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिए । बूढीगण्डकी जलविद्युत आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गरे । मन्त्री डा महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ बताए । मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नुपर्ने उल्लेख गर्दै उन प्राकृतिक विपद्लगायतका कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको स्पष्ट पाए ।
अर्थमन्त्री डा. महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताए । आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उनले भनाइ छ । बेथितिका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको अर्थमन्त्री डा. महतको दाबी छ ।