काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए ।
उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौती रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताए ।