एजेन्सी । विश्वका शीर्ष दुई अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्ने भएकी छन् । येलेनले जुलाई ६ देखि ९ सम्म चीन भ्रमण गर्न लागेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । केही साताअघि विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेका थिए ।
अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘येलेनले आफ्ना समकक्षीसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद र विश्वव्यापी चुनौतीहरूको सामनाका लागि सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।’ गत महिनाको भ्रमणपछि ब्लिन्कन करिब पाँच वर्षमा चीनको यात्रा गर्ने सबैभन्दा उच्चपदस्थ अमेरिकी अधिकारी बनेका थिए । उनको भ्रमण दुर्लभ भएको र यस क्रममा वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए ।