काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताएको छ । इपानका अध्यक्ष गणेश कार्कीले सरकारले झन्झटिलो प्रक्रियाको अन्त्य गरिदिए ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न नेपाली लगानीकर्ता सक्षम रहेको बताए ।
‘तामाकोसी बनाउन १२ वर्ष लागेछ, १० हजार मेगावाट १० वर्षमा बनाउन सक्छ कि सक्दैन,’ उनले भने, ‘सरकारले झन्झटिलो प्रक्रियाको अन्त्य गरिदिए ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न नेपाली लगानीकर्ता नै सक्षम छन् ।’ इप्पान दिवसको पूर्वसन्ध्यामा आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल र भारतबीच भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौताको पनि इप्पानले स्वागत गरेको छ । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई थप ढोका खुल्दै जाने अध्यक्ष कार्कीले जनाए ।
अहिले अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ । यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ भने आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातमा पनि निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनेछ, उनले भने, यति धेरै विद्युत् निर्यात गर्नका लागि निजी क्षेत्रको संलग्नताबिना असम्भव नै छ । निर्यातको यो लक्ष्य पूरा गर्नका लागि निजी क्षेत्र तयार पनि छ ।’
इप्पानले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने र ३० हजार मेगावाट उत्पादन गरौं भन्दै सरकारलाई सुझाव दिइरहेको उनले सुनाए । सरकारले अहिले २८ हजार मेगावाट उत्पादन गर्ने र १३ हजार स्वदेशमै खपत गरी १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ ।
आगामी दिनमा सरकारको लक्ष्य पूरा गर्न धेरै चुनौती रहेको भन्दै उनले सरकारले रातदिन नभनी २४ घण्टै काम गर्नुपर्ने सुझाव दिए । मुलुकमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्न झण्डै ४६ खर्ब लगानी आवश्यक रहेको इप्पानले जनाएको छ । सरकारले नीतिनियम संसोधन गरी सुरक्षा प्रत्याभूत गर्छ भने निजी क्षेत्रले नै उत्पादन गर्न सक्ने कार्कीले बताए ।