काठमाडौं । ललिता निवास प्रकरणका आरोपी मीनबहादुर गुरुङसहित सबै आरोपी रिहा गर्न काठमाडौं जिल्ला अदातलले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
गुरुङसँग अदालतले दुई करोड ४६ लाख रुपैयाँ धरौटी मागेको छ । अदालतको आदेशपछि गुरुङले धरौटी बुझाउन लागेको स्रोतको भनाइ छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटी र एक जनालाई साधारण तारिखमा छाड्न न्यायाधीश ढकालको इजलासले आदेश दिएको हो ।
यो प्रकरणको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्तिसमेत थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेस गरेको थियो ।