काठमाडौं । यो वर्षको तिहारमा स्वदेशी सयपत्री फूलको कारोबार ३० प्रतिशत मात्रै भएको छ । तिहारमा ५ करोड ८५ लाख रुपैयाँको स्वदेशी सयपत्री फूलको माला खपत हुँदा १३ करोड ६५ लाख रुपैयाँको भारतीय माला खपत भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
भारतीय सयपत्री फूलको कारोबार ७० प्रतिशत भएको छ । स्वदेशी फूलले बजारसँगै मूल्य नपाउँदा समग्रमा फूलको कारोबार घटेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । यो वर्षको तिहारमा कुल २४ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको छ ।
अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएको थियो । ‘गत वर्षको तिहारमा प्रति माला सय रुपैयाँमा बिक्री भएको थियो,’ उनले भने, ‘यस वर्ष औषत प्रति माला ६५ रुपैयाँमा बिक्री भएको छ । फूलको मूल्यमा कम आउँदा कारोबार रकम पनि घट्यो ।’ एसोसियसनले यो वर्ष ३१ करोड २८ लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरेको थियो ।
कोल्ड स्टोरमा राखिएको भारतिय माला सस्तो भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ । यो वर्षको तिहारमा ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएपनि ३० लाख मात्रै सयपत्री माला खपत भएको छ । मखमली ३ लाख २५ हजार थान माला खपत भएको छ ।
अष्ट्रेलिया, अमेरिका, खाडी मुलुकमा ३ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख थान मखमली माला निर्यात भएको एसोसियसनले जनाएको छ । गोदावरी माला २ करोड रुपैयाँ बराबरको २० हजार थान माला स्वदेशमै खपत भएको हो । मिक्स माला ९ लाख रुपैयाँ बराबरको ३० हजार थान खपत भएको हो ।