काठमाडौं । लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ ।
गत विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको विभागले जनाएको छ ।
सोही क्रममा केही बाकसहरु विभागले बरामद गरेको छ । तर, त्यसमा सुन भने नभेटिएको विभागका एक अधिकारीले बताएको छ । घरलाई अहिले विभागले शिल गरेको छ । विभागका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको र तिनीहरुबारे विभागको टोलीले अहिले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।