काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ अब करिब ९९ मिटर मात्र खन्न बाँकी रहेको छ । मुख्य सुरुङको ९८.६ मिटर खन्न बाँकी रहेको छ । समग्र रूपमा सुरुङ खन्ने काम १.८ प्रतिशत मात्र बाँकी रहेको छ । अहिले यो सुरुङमा दुई सिफ्टमा गरेर निर्माणको काम भइरहेको छ । आगामी दुई महिनाभित्र ‘ब्रेकथ्रु’ गर्ने गरी निर्माणको कामलाई तीव्र पारिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द डुमरुले बताए । मुख्य सुरुङको कुल दूरी २६८८ मिटरमध्ये २५८९।४० मिटर खनिसकिएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेकथ्रु’ भएको थियो ।
२५५७ मिटर दूरी रहेको उक्त आपतकालीन सुरुङको ‘ब्रेकथ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणमा सबैको चासो छ । मुख्य सुरुङ निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा यातायात चल्ने आयोजनाको दाबी छ । अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भइरहेको छ ।
अहिलेसम्म समग्र सुरुङ खन्ने काम ९८.२० प्रतिशत सकिसकेको छ । आयोजनाका अनुसार समग्र भौतिक प्रगति भने ६७.६१ प्रतिशत छ । अहिलेसम्म ३ वटा अन्डर पास,४ वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भइसकेको छ । सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल,पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउने छैनन् ।
२०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो । सुरुमा कोभिडका कारण तोकिएकै समयभित्र निर्माण नसकिएको आयोजनाको भनाइ छ । त्यसको प्रभाव पछिसम्म रहँदा सुरुङ निर्माणको कामले गति लिन नसकेको सडक विभागले बताएको छ । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।
सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।